अन्यकर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

भोटेकोसी बाढी प्रभावितलाई बुढा दम्पत्तीको ११ लाख सहयोग

Share


सुर्खेत, १५ असोज
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पु¥याउन सुर्खेतका दिपक–हिमा दम्पत्तीले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।


विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश सापकोटाको समेत चेक हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो ।


दिपक–हिमा दम्पत्तिले स्वर्गीय बुवा मानबहादुर बुढाको ९ औँ पुण्य तिथि र विसी ग्रुपद्वारा सञ्चालित भवानी छापाखानाको २७ औँ बार्षिकोत्सवको अवसरमा बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा आफू र आफ्नो व्यवसायको तर्फबाट सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताए ।


गत १० भदौमा रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको खोज, उद्धार तथा पुनर्निर्माणका लागि सरकारले राहत तथा सहयोग रकम जुटाइरहेको छ । यही अभियानमा विसी ग्रुप कर्णालीले पनि आफ्नो तर्फबाट रकम उपलब्ध गराएको हो । यो सहयोगमा बुढा र उनकी श्रीमती हिमकुमारी उपाध्यायले विभिन्न सरकारी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानबापत पाएको रकमसमेत समावेश गरेका छन् ।


विसी ग्रुपकी निर्देशकसमेत रहेकी उपाध्यायले राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८, राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार–२०८० र कर्णाली प्रदेश सरकारको उत्कृष्ट महिला उद्यमी सम्मान–२०८२ बाट प्राप्त एक–एक लाख रुपैयाँ राहत कोषमा दिएकी छन् । बाँकी रकम विसी ग्रुप अन्तर्गतका विभिन्न व्यवसायिक घरनाबाट जुटाइएको हो ।


भवानी छापाखानाबाट तीन लाख ११ हजार एक सय एक रुपैयाँ तथा गंगामाला ट्राभल्स एण्ड टुर्स, युगआह्वान राष्ट्रिय दैनिक÷अल्फा कम्युनिकेशन कर्नर एण्ड बिज्ञापन एजेन्सी, रारा प्रिन्टिङ प्रेस प्रालि कोहलपुर र यस मल्टिविजनेस प्रालि काठमाडौंबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको छ ।

रणनैतिक महत्वका आयोजना अघि बढाउन माग
राहत रकम हस्तान्तरण गर्न अर्थ मन्त्रालय पुगेका बुढाले सोही अवसरमा अर्थमन्त्री वाग्लेसमक्ष कर्णाली र लुम्बिनी प्रदेशसँग सम्बन्धित विभिन्न विकास तथा आर्थिक मुद्दा पनि उठाएका छन् । उनले औद्योगिक क्षेत्रका उद्योग तथा प्रतिष्ठानलाई परियोजनाका आधारमा बैंक ऋण उपलब्ध गराउने स्पष्ट कार्यविधि ल्याउन माग गरेका छन् ।


बजेटमा व्यवस्था भए पनि कार्यान्वयनका लागि स्पष्ट प्रक्रिया नहुँदा निजी क्षेत्रको लगानीमा अन्योल सिर्जना भएको उनको भनाई छ । महिला उद्यमशीलता विकास कोषबाट प्रदान गरिने कर्जाको सीमा एक करोड रुपैयाँ पु¥याउनुपर्ने तथा प्रदेशगत रूपमा लगानीको सन्तुलन कायम गर्नुपर्ने सुझाव तथा माग पनि उनले राखेका छन् ।


स्थानीय तहमा घोषणा गरिएका औद्योगिक ग्रामलाई निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न आवश्यक कार्यविधि ल्याउनुपर्ने र परियोजना धितोमा ऋण लगानीको व्यवस्था गर्नुपर्ने उनको माग छ । बाँकेको लवस्ता÷बैजनाथमा घोषणा गरिएको औद्योगिक क्षेत्र लामो समयदेखि सञ्चालनमा आउन नसकेको भन्दै तत्काल सञ्चालनमा ल्याउन पनि उनले आग्रह गरेका छन् ।


बुढाले सुर्खेत विमानस्थलको विस्तार तथा सुधारलाई प्राथमिकतामा राख्दै कर्णालीका १० जिल्ला तथा सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा हुने हवाई उडान सुर्खेतबाट केन्द्रित गरी नियमित गर्नुपर्ने माग गरेका छन् । कर्णालीका रैथाने बाली कोदो, फापर, चिनो, कागुनो र मार्सीधान तथा बहुमूल्य जडीबुटीको व्यावसायिक उत्पादन विस्तारका लागि सरकारको विशेष नीति आवश्यक रहेको उनले बताए ।


उद्यमी, कम्पनी, किसान समूह र सहकारीलाई जोडेर जग्गा एकीकरणमार्फत व्यावसायिक खेती विस्तार गर्न सकिने उनको प्रस्ताव छ । त्यस्तै, जाजरकोटमा पाइने काइनाटिक तथा स्लेट ढुंगाको चोरी निकासी रोक्दै प्रशोधन उद्योग स्थापना गर्नुपर्ने, सुर्खेत–कोहलपुर–नेपालगञ्ज सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने तथा रारा र शे–फोक्सुण्डोजस्ता पर्यटकीय गन्तव्यसम्मको पहुँच मार्ग सुधार गर्नुपर्ने माग उनले राखेका छन् ।


दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन, प्रशोधन तथा बिक्री–वितरणका लागि आवश्यक सडक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीसँगको भेटमा बुढा दम्पत्तिले कर्णाली र लुम्बिनीका उद्योग, पूर्वाधार, कृषि, पर्यटन र उद्यमशीलताका मुद्दासमेत अर्थमन्त्रीसमक्ष राखेका छन् ।

कक्षा–८ पढ्दा मासिक फि तिर्न नसकेका दिपक
बुवाआमा गाउँमा खेती किसानी गर्नुहुन्थ्यो । विस्तापित भएर शहर पसेपछि हाम्रो परिवारको घर खर्च, दैनिकी, पढाई लेखाई खर्च महँगीयो । मेरो परिवारले बर्षभरीलाई अन्न जोहो गर्न अधिया (आधा–आधा) मा खेत रोप्न थाल्यौ । आमाले बदाम बेच्ने, मकै पोल्ने, गाउँबाट ल्याएर कुच्चो बेच्ने काम गरी दैनिकी चलाउँदै आएका थियौं । आर्थिक अभावमै उपचार खर्च जुटाउन नसकेर मेरो एउटा भाई उपचारकै क्रममा भेरी अञ्चल अस्पताल बाँकेमा गुमाउनु प¥यो ।


नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय वीरेन्द्रनगर–११ गाग्रेतालमा म कक्षा–८ मा पढ्दै थिए । भाईको उपचारमा खटिँदा पहिलो बर्ष पढाई बिग्रियो । दोस्रो बर्ष पढाईलाई निरन्तरता दिएँ । कक्षा–८ को जिल्ला स्तरिय परीक्षा थियो । सामुदायिक विद्यालय भएकाले मासिक फि कक्षा अनुसार फरक फरक मेरो रु. ८०।– बर्षभरीको रु.९६०।– रुपैयाँ विद्यालयलाई बुझाउनुपर्ने थियो । आर्थिक अवस्था कमजोर भएर मैले उक्त शुल्क बुझाउन सकिन । फि तिर्न नसकेपछि म कक्षा तेस्रो स्थानमा उत्तिर्ण हुँदा पनि मेरो नतिजा प्रकाशित नभएर त्यसमा खाली राखेर सबैको नतिजा विद्यालयले प्रकाशित गरेको थियो ।


३ महिनासम्म पनि कुनै उपाय नलागेपछि म आवद्ध रहेको बाल क्लवमा चर्चा परिचर्चा सुरुभयो । विद्यालयमा चर्चा सुरु भयो । विद्यालयका प्रधानाध्यापक नेत्रमणी चालिसेले मेरा साथीभाई मार्फत खबर पठाउनुभयो । विद्यालय आउनु भनेर त्यसपछि म विद्यालय जान थालँे । मेरो कक्षाको फि र शैक्षिक सामाग्री जिल्ला बाल कल्याण समिति र त्यसका बाल कल्याण अधिकारी रमा भण्डारी, स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यबाट समेत ठुलो सहयोग मिल्यो । आवाज संस्थाबाट पनि मासिक शुल्क बुझाउने गरी छात्रवृत्ति प्राप्त गरेर मैले पढाईलाई निरन्तरता दिएको संघर्षपूर्ण अनुभव छ ।


मैले बाल क्लवसंगै पढाईलाई समेत निरन्तता दिएँ । त्यस समयमा हुने विभिन्न बाल गीत, बक्तृत्वकला, हाजिरीजवाफ, नाटक प्रतियोगिताहरुमा सक्रियतापूर्वक सहभागि हुँदै संधै पुरस्कार प्राप्त गरेको थिएँ । त्यस समयमा पाएका करिव करिव १०० को हाराहारिमा प्रमाणपत्रहरु म संग अहिले पनि सुरक्षित रहेका छन् । वि.सं. २०६३ सालमा एसएलसी ७१ प्रतिशत अंक सहित उत्तिर्ण गर्न सफल भएँ । बाल क्लवले मेरो पढाईलाई बिगार्ने हैन नतिजा थप राम्रो बनायो । समकालिन साथीहरुमा प्रतिस्पर्धी बनायो ।


बोल्न सक्ने, लेख्न सक्ने क्षमता दियो । विभिन्न तालिम, गोष्ठी, जीवन सिकाईको अवसरहरु जुटायो । मेरो अहिलेको यात्रासम्म आई पुग्ने लक्ष्य, उद्देश्य निर्धारण गरी पुग्ने सहज बाटो बनाइदियो । आज म त्यही बाटोमा संघर्ष गरिरहेको छु । दौडिरहेको छु । सफलता वा असफलता त्यसको समिक्षा गरिरहेको छु । सम्भवत मलाई चिन्ने, जान्ने, बुझ्ने धेरै शुभेच्छुक, शुभचिन्तक, आफ्न्तहरुले सफल युवा, सफल व्यवसायी, सफल सञ्चार उद्यमी, सफल पत्रकारको रुपमा चर्चा गरेको पाउँछु । मलाई मेरो त्यो बाल क्वलप्रति श्रद्धा छ, सदभाव छ, माया छ, मेरो पेशा पत्रकारिताप्रति गर्भ छ ।

भित्ते पत्रिकाबाट सञ्चार उद्यमी
टाईगर बाल क्लव लाटीकोइली–९ पदमपुरबाट भित्ते पत्रिका प्रकाशनसंगै सुरु भएको मेरो पत्रकारिताको जग हो । हामी बालबालिकाहरुको प्रतिभालाई कलात्मक बनाउँदै भित्ते पत्रिका तयार गरेर समुदायका सबैले देख्ने गरी उपयुक्त सार्वजनिक स्थानहरुमा टाँस्ने गरिएको थियो । आवाज विहिनहरुको आवाज बन्ने, समुदायका गतिविधि बाहिर ल्याउने, अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचारलाई बाहिर ल्याउने एउटा सम्मानित पेशा पत्रकारिता भएको बुझाईसंगै पत्रकारिताप्रतिको मेरो रुचि, लगाव, क्रियाशिलता बढ्दै गएको थियो ।


बाल क्लवबाट समुदायमा गरिएका विभिन्न गतिविधिहरुलाई मैले आफै विवरण तयार गरेर रेडियो भेरी एफ.एम, बुलबुले एफ.एम., जागरण एफ.एम., पत्रिका काँक्रेविहार, लोकमञ्च दैनिकमा समाचार, फोटो दिने र समाचार छापिएर पत्रपत्रिका संकलन गर्ने, रेडियोमा नाम आएपछि फुरुङ्ग हुने बानि थियो । बालदिप अर्धबार्षिक बुलेटिनको सम्पादक भएपछि पत्रकारिताको अभ्यास गर्ने, सिक्ने अवसर मिलेको थियो । घरको आर्थिक अवस्था कम्जोर भएकाले एसएलसी पास गरेपछि आफ्नो पढाई खर्च जुटाउनका लागि पनि काम खोज्नै पर्ने बाध्यता थियो ।


त्यही समयमा सेभ द चिल्ड्रेन र स्याक नेपाल मार्फत ६ महिने मोटरसाइकल मर्मतको ६ महिने आवासिय तालिम सानोठिमी भक्तपुरबाट लिने अवसर मिलेको थियो । उक्त तालिमबाट फर्किपछि मैले करिव ३ महिना काठमाडौंबाट सुर्खेत आउने नयाँ पत्रिका दैनिकको वितरण भएर काम गरेँ । काम गर्दा गर्दै संयोगनै भन्नुपर्छ आफैले समाचारको विवरण र फोटोहरु दिँदै आएको लोकमञ्च दैनिकमा जागिर खुल्यो । आवेदन दिएँ । मासिक रु. १५००।– पारिश्रमिक पाउने गरी रिपोटर पदमा करारमा नियुक्ति पाएँ । यसरी मेरो पत्रकारिता पेशामा आवद्धता र सुरुवात भएको हो ।

पत्रकारिताको जागिर गर्दै गर्दा विभिन्न मिडिया हाउसमा आवद्ध भएर जिम्मेवारी निर्वाह गरेँ ।
२०६७ सालदेखि युगआव्हान दैनिक पत्रिकाको रिपोर्ट हुँदै हाल उक्त पत्रिकाको प्रकाशक÷सम्पादक (मालिक) बनेको छु । मेरो यो पत्रकारिता यात्राको २० बर्ष पुगेको छ । यही समयमा हकर (पत्रिका) वितरकदेखि मालिक सम्मको अनुभव संगालेको छु । मेरो संस्थामा अहिले पनि हकरदेखि डेक्स सम्पादकसम्म करिव २५ जनालाई रोजगारी दिएको छु । व्यवसायका अन्य सबै क्षेत्रमा जोडदा ५५ जनाभन्दा बढी युवाहरुलाई रोजगारी दिन सफल भएको छु ।

पत्रिका विक्रि गर्दै व्यवसायमा
युगआव्हान दैनिक पत्रिका र पत्रकारिता पेशासंगसंगै व्यवसायलाई समेत अगाडी बढाएको छु । वि.सं. २०६७ सालमा दर्ता भएको विज्ञापन संकलन गर्ने र काठमाडौंबाट आउने गोरखापत्र, नागरिक, कान्तिपुर दैनिक पत्रिका विक्रि गर्ने पहिलो व्यवसायीक फर्म अल्फा कम्यूनिकेशन कर्नर एण्ड बिज्ञापन एजेन्सी हो ।


त्यसपछि वि.सं. २०७१ सालमा गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि., भवानी अर्डर एण्ड सप्लायर्स, सिद्धि बिनायक आयल स्टोर, सिद्धि विनायक छापाखाना, रारा उर्जा विकास कम्पनी, एस मल्टि बिजनेश प्रालि, रारा प्रिन्टिङ प्रालि कोहलपुर लगायत करिव १९ वटा फर्म सञ्चालनमा रहेका छन् । मैले सञ्चालन गरेका फर्महरुमा मात्रै ५५ जना बढीले रोजगारी पाएका छन् भने बार्षिक २५ करोडको हाराहारीमा कारोबार गर्दै आएको छु । परिवारका सबै सदस्यहरुलाई व्यवसायमा जोड्दै हामीले सामाजिक कार्य गर्नका लागि साझा संस्था विसी ग्रुप फाउण्डेशन समेत सञ्चालनमा ल्याएका छौं । फाउण्डेशनको म अध्यक्षको भूमिकामा रहेर विभिन्न सामाजिक कार्यहरु गरिँदै आएको छ । हाम्रो फाउण्डेशनमा आवद्ध रहेका फर्महरुले बार्षिक २५ करोड बढीको कारोबार गर्दै आएका छन् ।

जाजरकोटमा भुकम्प आएको समयमा जुनिचाँदै गाउँपालिका–१ जाजरकोटको सरस्वती प्राथमिक विद्यालय बडकुलेका भूकम्प प्रभावित ११५ जनाभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री करिव २ लाख बराबरको वितरण गरिएको थियो । पत्रकार साथी मान बहादुर ओलीको छोराको उपचारमा नगद ३५ हजार सहयोग गरेको थिएँ । मलाई हिजोको बाल क्लव, आफ्नो कमजोर आर्थिक अवस्था र अभावबाट धेरै कुरा सिक्दै चरम अभावमा रहेका आजका बालबालिका भोलीका कर्णधारहरुलाई सानो सानो भएपनि सहयोग गर्ने इच्छा छ, रुची र सोही अनुसार बर्षेनी केहिन केही सामाजिक कार्य गर्दै आएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *