फिचरबाग्मती प्रदेशसमाचार

बालिका चोरीको आरोपमा दैलेखकी मनकुमारी सिंह पक्राउ

Share

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको आरोपमा प्रहरीले दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंहसँगै कोठाबाट अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।

शुक्रबार राति ११:४५ बजे प्रहरीको टोलीले काँडाघारीस्थित कोठामा पुगेर बालिकालाई उद्धार गरेको थियो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि सिंहले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेको बताइएको छ। बालिका लिएर गएपछि सिंहले छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ ।

सिंहका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।  बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । 

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो । 

बच्चा हराएको खबर प्राप्त हुन साथ प्रहरी टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *