फिचरविजनेससमाचार

एनजीएमबाट खोसियो हिरोको डिलरसिप, अब सीजी मोटर्स आधिकारिक वितरक, नवलपुरमा एसेम्बल हुने

Share

काठमाडौं – नेपाली बजारमा हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर अब सीजी मोटोकर्पले बिक्री–वितरण गर्ने भएको छ । लामो समय देखि नेपाल जनरल मार्केटिङ (एनजीएम) ले हिरोका उत्पादन नेपालमा बिक्री–वितरण गरिरहेकोमा अब भने चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री–वितरण गर्ने भएको हो।

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्। यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। 

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ। 

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

उनले भने, ‘चौधरी ग्रुपको व्यापक व्यावसायिक ज्ञान र विविध व्यावसायिक दक्षताले नेपालमा हाम्रो व्यवसाय फस्टाउनेछ।’

नेपालमा उक्त कम्पनीका विभिन्न उत्पादनहरु रहेका छन्। तिनमा इन्ट्री लेभलदेखि प्रिमियम लेभलसम्मका दुईपांग्रे छन्। जसमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु रहेका छन्। मोटरसाइकलबाहेक डेस्टिनी १२५, मायस्ट्रो एज र प्लेजर प्लसजस्ता स्कुटर पनि नेपालमा लोकप्रिय छन्। विशेष गरी लामो समय देखि स्प्लेन्डर र पछिल्लो समयमा भित्रिएको एक्सपल्स २०० मोटरसाइकल तथा प्लेजर स्कुटर निकै नै रुचाइएका मोडल हुन् । भारतमा पछिल्लो समयमा लन्च भएको हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध गराउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *