प्रदेश समाचारफिचरसमाचार

भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँमाथि हातपात

Share

जाजरकोट। जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोली प्रमुखमाथि हातपात भएको पाइएको छ ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको हो ।

भूकम्प गएको ३ दिनपछि सोउ नेतृत्वको चिनियाँ टोली राहत सामग्री वितरणका लागि जाजरकोट र रुकुम पश्चिम पुगेको थियो । ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलप्मेन्ट’ ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो भने ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका वडा १ रिम्नास्थित स्टोर बनाएर राखिएको थियो ।

त्यो राहत सामग्री वितरण गर्न चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ आफैं पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राहत वितरण गरेर स्टोर गरिएको स्थानमा सामग्रीको अनुगमनमा गएका बेलामा उनीमाथि हातपात भएको हो ।

‘के कति सामान बाँकी रहेको छ ? अझै के कति सामान पठाउने भनी स्टोर गरिएको ठाउँमा सो संस्थाकी निर्देशक सोउ सिच्याङलगायत टोली पुगेको बेलामा हातमुक्का गरी लछारपछार भएको थियो’, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले भने ।

घटनाबारे उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । ‘उजुरी परेपछि हामीले अनुसन्धान गरी तीनजनाको खोजी गरेका थियौं । त्यसमध्येका एक जनालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थियौं । उनी धरौटीमा छुटेका छन्’ उनले भने, ‘दुई जना फरार नै छन् ।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोरखबहादुर केसीविरुद्ध उजुरी दिएको थियो । उनीहरुमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नताको आरोप लागेका केसी माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य हुन् । यस्तै खत्री केसीकै निर्माण कम्पनीमा कार्यरत भान्से हुन् भने रावल सोही कम्पनीमा काम गर्ने ड्राइभर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *