प्रदेश समाचारफिचरसमाचार

मुगुमा १४ बर्षीय बालिका बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

Share

मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा देखाइ सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय वसन्त बहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया र ३ जना बालक रहेका छन् ।

तीनजना बालक भएकाले उनीहरुको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । पुस २५ गते पक्राउ परेका उनीहरुलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीका अनुसार उक्त घटनामा कृषि विकास कार्यालय गमगढीकै सवारी चालक ३० वर्षीय पदम बहादुर कठायत सहित चार जना फरार छन् ।

बालिकामाथि भाद्र १६ र असोज १० गते उक्त समूहले छुट्टाछुट्टै समयमा सामुहिक बलात्कार गरेको बताइएको छ । सोही आधारमा बालिकासहित उनका आफन्तले ९ जनाविरुद्ध उजुरी दिएका थिए । उजुरी पुस २३ गते जिल्ला प्रहरी कार्यालय मुगुमा दिइएको हो ।

पीडित पक्षको उजुरीपश्चात ९ जना मध्ये ५ जनालाई गमगढी बजारबाट पक्राउ गरिएको थियो । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य अवस्था बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो । अस्पतालमा चेकजाँचका क्रममा उनको पेटमा १८ हप्ताको गर्भ रहेको खुलेको थियो ।

गर्भ रहेको थाहा पाएपछि बालिकाले आफूमाथि विभिन्न प्रलोभन देखाएर उक्त समूहले बलात्कार गरेको परिवारलाई बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *