अन्य

नागरिकता विधेयक प्रमाणीकरणको विषयमा सत्तारुढ र प्रतिपक्षीबीच मतभेद

Share

काठमाण्डाै- राष्ट्रपतिले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले संसद बैठक नै अवरुद्ध गरेको छ भने सत्तापक्षले दुई-दुईपटक सदनमा छलफल भएर राष्ट्रपति कार्यालयमा पुगेको विधेयक प्रमाणीकरण स्वाभाविक भएको प्रतिक्रिया दिएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता जस्तो संवेदनशील विषयमा संविधानविपरीत प्रमाणीकरण गरेकाले यसलाई सच्चाउनुपर्ने बताए । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले मन्त्रीपरिषद्को पत्रका आधारमा विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिले बताएपनि त्यो संविधान अनुसार नरहेको जिकिर गरे । ताजा जनादेश प्राप्त संसद आइसकेको अवस्थामा उक्त विधेयकलाई दर्ता गरेर प्रक्रियामार्फत नै अघि बढाउनुपर्ने एमालेको धारणा रहेको उनको भनाइ थियो । नागरिकता विधेयकमा रहेको विषयवस्तुमा पनि एमालेको असहमती रहेको गिरीले बताए । विदेशी चेली नेपालीसँग बिवाह गर्दा तत्काल नागरिकता दिने प्रावधानले भविष्यमा ठूलो असर पर्ने उहाको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताए । अघिल्लो राष्ट्रपतिले मन्त्रीपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वाभाविक नरहेपनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण भएको उनको भनाइ थियो । उनले विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे ।

माओवादी केन्द्रका नेता माधव सापकोटाले संसदमा दुई-दुई पटक छलफल भएर सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रमाणीकरण हुनमात्र बाँकी रहेकोमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रष्टीकरण दिए । अहिले त्यही विषयलाई लिएर सदनमा विरोध गर्नु जायज कुरा नभएको उनको भनाइ थियो ।

‘प्रक्रियामा बारेमा सदनमा सबैले कुरा राख्न पाउँछन् । तर, यसलाई प्रतिपक्षीले सदनमा हंगामा गर्नका लागि विषयमात्रै बनाए’, उनको टिप्पणी थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृतबाट जन्मेकालाई वंशजको नागरिकता दिनै नमिल्ने बताए । भारतले नेपाललाई सिक्किम र भुटान प्रयन्त गरिरहेको भन्दै त्यसको विरुद्धमा जनता उठ्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *