राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला
हुम्ला। हुम्ला जिल्लाकाे सदरमुकाम सिमकोट अन्ततः राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएको छ।

निर्माण सुरु भएको २६ वर्ष र सरकारी नीति तथा कार्यक्रममा लेखिन थालेको १२ वर्षपछि विकट हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएको हाे।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोलामा नेपाली सेनाद्वारा निर्मित बेलीब्रिजको उद्घाटन गरेसँगै दशकौँ लामो हुम्लावासीको राष्ट्रिय सडक सञ्जालसँग जाेडिने प्रतीक्षा समाप्त भएको छ।

पुलको उद्घाटनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग मात्र जोडेको छैन, यसले उत्तरमा चीन र दक्षिणमा भारतलाई जोड्ने ‘कर्णाली समृद्धिको मार्ग’ को ढोका खोलेको छ।
पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई कर्णाली र हुम्लावासीको मात्र नभई चीन र भारतसँगको त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गरिने घोषणा गरे।
उनले पुल सञ्चालनले हुम्ली जनताको दैनिक जीवनमा सहजता ल्याउने र वैदेशिक व्यापारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आठ वर्षअघि २०७४ चैतमा तत्कालीन प्रधानमन्त्री ओलीलाई रारामा बोलाएर कर्णाली प्रदेश सरकारले यस करिडोरलाई ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ नामकरण गरेको थियो।

यसको उद्देश्य संघीय सरकारको ध्यानाकर्षण गराई यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गराउनु थियो। चीन सरकारको स्वामित्वमा रहेको एक कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी डीपीआर तयार पारे पनि संघीय सरकारले लामो समयसम्म प्राथमिकतामा राखेको थिएन।
गत पुस १६ गते सरकारले चुवाखोलामा पुल निर्माणको जिम्मा दिएपछि नेपाली सेनाले द्रुत गतिमा काम अघि बढाएको थियो। सेनाले दिनरात काम गरी १७० फिट लामो बेलीब्रिज समयअगावै निर्माण सम्पन्न गरेको हो। ‘अब हुम्ला सदरमुकाम सिमकोटमा बाह्रै महिना यातायातका साधन चल्नेछन्,’ सेनानी रनजीत बुढाथोकीले भने।