कर्णालीका पूर्वमन्त्री बुढालाई झोले विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै आयोगले झुटा कागजात बनाइ विद्यालय भवन निर्माणका लागि विनियोजित सात लाख ६० हजार रुपैयाँ हिनामिना गरिएको दाबी गरेको हो ।

मुद्दामा बुढासँगै डोल्पाको जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र फर्जी उपभोक्ता समितिकी कोषाध्यक्ष संगीता बुढा प्रतिवादी छन् ।
आरोप अनुसार, डोल्पाको साविक दुनै गाविस २ र ३ स्थित तिप्ला भन्ने ठाउँमा ‘दुर्गा प्राथमिक विद्यालय’को नाममा विद्यालय अस्तित्वमै नरहँदा पनि त्यसको नाममा दुई कोठे भवन निर्माणका लागि रकम विनियोजन गरिएको थियो ।
भवन निर्माणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट कुनै रकम नआएको र भवन समेत नबनेको पुष्टि जिल्ला शिक्षा कार्यालय डोल्पाबाट प्राप्त पत्र र अख्तियारको स्थलगत अनुसन्धानबाट भएको हो । त्यहाँ हाल लालीगुँरास आधारभूत विद्यालयबाहेक कुनै पनि विद्यालय सञ्चालनमा नरहेको पाइएको छ।
आयोगले प्रस्तुत गरेको आरोपपत्रमा उपभोक्ता समितिको नाममा खाता खोली, झुटा तथा नक्कली कागजातका आधारमा चेकमार्फत सात लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको उल्लेख छ । समितिका अध्यक्षका रूपमा पूर्वमन्त्री बुढा स्वयं रहेका थिए ।
पूर्वमन्त्री बुढा २०७५ सालमा एमालेबाट कर्णाली प्रदेश सरकारमा वनमन्त्री बनेका थिए । २०७८ सालमा उनले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्दै फ्लोरक्रस गरेका थिए । त्यसपछि पुनः मन्त्री बनेका उनी २०७९ मा एमालेमा फर्किएका थिए । प्रकरण १५ वर्ष पुरानो, आर्थिक वर्ष २०६७/६८ मा भएको हो । अख्तियारले हाल अनुसन्धानपश्चात् विशेष अदालतमा चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
