सुर्खेतमा ‘उद्यमशिलता प्रेरणा सम्मेलन’ हुँदै
सुर्खेत । बुधबारदेखि सुर्खेतमा ‘एन्टरप्रेनरसीप मोटिभेशनल कन्क्लेभ ९उद्यमशिलता प्रेरणा सम्मेलन० हुन लागेको छ। राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशिल युवा सिर्जनशिल युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा उद्यमशिलता प्रेरणा सम्मेलन हुन लागेको हो।

युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यका साथ सम्मेलन गर्न थालिएको सम्मेलनका संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिए। पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताए।
‘देशको वर्तमान प्रमुख मुद्दा भनेको आर्थिक समृद्धि हो, आर्थिक समृद्धिविना देशको विकास र नागरिकको जिवनस्तरमा रुपान्तरण सम्भव देखिँदैन,’ उनले भने, ‘यसैसन्दर्भमा हामीले यो उद्यमशिलता अभियानको थालनी गरेका हौं।’
उद्यम गर्ने सोच बनाएका युवाहरुले भोग्नुपरेका अवरोध हटाउन सम्मेलनले सहयोग गर्ने अपेक्षा आयोजकको छ। सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमीहरुको सक्रिया सहभागिता रहने जनाईएको छ।