प्रदेश समाचारराजनीतिविजनेससमाचार

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार

Share

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को महिना लगानी तथा विकास सम्मेलन गर्ने भएको छ ।

लगानीका क्षेत्र पहिचान गरेर निजी तथा सरकारी निकायमार्फत लगानी भित्र्याउने उद्देश्यसहित फागुन २३ र २४ गते धनगढीमा सम्मेलन गर्न लागिएको हो ।

यसका लागि मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ भने भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको संयोजकत्वमा निर्देशक समिति, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको संयोजकत्वमा कार्यकारी समिति बनेको छ ।

आर्थिक मामिला मन्त्री शाहीका अनुसार नीति तथा योजना आयोगका उपाध्यक्ष अनुपकुमार उपाध्यक्ष सहसंयोजक रहेको कार्यकारी समितिले परियोजना बैंक बनाउने काम गरिरहेको छ ।

खासगरि कृषि, पर्यटन, शिक्षा, खानी, वन तथा वातावरणका क्षेत्रका परियोजनाको अध्ययन गरेर लगानीका लागि प्रोत्साहन गर्ने प्रदेश सरकारको योजना छ ।

प्रदेश सरकारले लगानी सम्मेलनका लागि लगानी गर्न योग्य ५६ वटा परियोजनाको पहिचान गरेको छ । कैलालीको बूढीतोलामा रिसोर्ट परियोजना, कञ्चनपुरमा महाकाली रिभर फन वाटर पार्क, कर्णाली, सेती र महाकाली नदीमा र्‍याफ्टिङ, धनगढी, महेन्द्रनगर, मलास र खानिडाँडामा पाँच तारे होटल, ९ वटै जिल्लामा हेलिकप्टर सफारी लगायतका योजना छनोट भएको छ ।

उद्योग तथा खानीतर्फ जडिबुटी प्रशोधन तथा संकलन, कृषि औजार उत्पादन कारखाना, खरी उद्योग, कृषि क्षेत्रतर्फ दाना उद्योग स्थापना, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग स्थापना लगायतका परियोजना राखिएको छ ।

यातायाततर्फ सुदूरपश्चिम सार्वजनिक यातायात सेवा, चार्जिङ स्टेशन, बडिमालिका केवलकार स्थापना, गोदावरी–बूढीतोला केवलकार स्थापना जस्ता परियोजना राखिएको छ ।

‘सुदूरपश्चिम प्रदेशबारे रहेको गलत बुझाइ झिर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने गरी लगानी सम्मेलन गरिरहेका छौं’, मन्त्री शाहीले भने, ‘यो सम्मेलनले सरकारी तथा निजी क्षेत्रको साझेदारीमा प्रदेशमा लगानी भित्र्याउने, लगानीमैत्री वातावरण निर्माण गर्न भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ ।’

कार्यकारी समितिले अहिलेसम्म लगानीका विभिन्न ५६ क्षेत्रको पहिचान गरेको छ । छनोट भएका क्षेत्रमा लगानी गर्न आह्वान गर्दै लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, होटल व्यवसायी महासंघ, प्रदेशका स्थानीय तहका साथै विश्व बैैंक, एसियाली विकास बैंकलगायतका दातृ निकायसँग छलफल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *