खेलकुदप्रदेश समाचारफिचरसमाचार

३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवलाई

Share

सुर्खेत । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लव (एनपिसी)ले जितेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार सशस्त्र प्रहरी बल (एपिएफ)सँगको खेलमा ३–१ ले उपाधी हात पार्न सफल भएको हो ।

पहिलो सुरुवाती सेट पुलिसले गुमाएको थियो । एपिएफले २५–२२ ले १ अंक लिन सफल भएको थियो । तर, दोस्रो, तेस्रो र चौथौं सेट लगातार पुलिस क्लवले जितेको हो । पुलिस क्लवले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो ।

यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको छ । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको थियो । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको थियो ।

पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्न सफल भयो । यो सेटमा आर्मी अधिकांश समय अग्रतामा रहेपनि गण्डकीले पूनरागमन जित निकाल्न सफल भयो ।

दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । बराबरीकै अवस्थाबाट अन्तिम समयमा गण्डकी सेट प्वइन्टमा पुगेपनि आर्मीले पूनरागमन गर्दै २६–२४ को जित निकाल्दा खेल १–१ सेटको बराबरीमा पुग्यो ।

तेस्रो सेट पनि उस्तै प्रतिस्पर्धात्मक बन्दा यसपटक गण्डकीले २६–२४ ले बाजी मार्यो । २४–२४ को बराबरीबाट गण्डकीका लागि स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित निकाल्न सफल भयो । दवावका बीच रविले गण्डकीलाई महत्वपूर्ण अंक दिलाउन सफल भए ।

चौथो सेटमा भने गण्डकीले राम्रो सुरुवात गर्दै खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्न सफल भएपनि अन्तिम समयमा आर्मीले कडा चुनौती दिदा खेल रोमाञ्चक बन्दा गण्डकी २५–२२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

गण्डकीले एक समय १२–६ त्यसपछि १८–९ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन प्रयास गर्दै खेलको २०–१७ को स्थितिमा पुगेको थियो । त्यसपछि पनि खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । आर्मीले खेल २४–२२ को स्थितिमा ल्याएपनि त्यसपछि गण्डकीले १ अंक बटुल्दै जित निकालेर तेस्रो स्थान हासिल गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *