हुम्लाको उनापानी गाउँमा आगलागी हुँदा आठ घर जलेर नष्ट
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं –३ उनापानीमा भिषण आगलागी भएको छ । आइतबार राती करिब एघार बजेतिर आगलागी हुँदा आठवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
विर्ख रावतको घरको गोठबाट सल्केको आगोले धन बहादुर रातव र जनक रावतको घर जलेर नष्ट भएपछि अरु छिमेकीका बाँकी पाँच घरमा आगो सल्केर नष्ट भएको स्थानीयले बताएका छन् ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरीको टोली राती दुई बजे घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
उनापानीमा आगलागी हुँदा विजन फडेरा, धन बहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजात सहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।
क्षतिको पुरा विवरण आउन सकेको छैन ।