फिचरबाग्मती प्रदेशविजनेससमाचार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टद्वारा विद्यार्थीलाई व्यवसाय सञ्चालनकालागि बीउ पुँजी हस्तान्तरण

Share

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवर्द्धन गर्ने कम्पनीको रुपमा सञ्चालित द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजीमध्ये दोस्रो किस्ताबापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो ।

म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि थप ४ लाख ५० हजार रुपैया हस्तान्तरण गर्नेछ ।

विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको प्रिन्सीपल पुरनबहादुर जोशीले बताए । विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ‘ओपन इनोभेसन हव’ नै स्थापना गरेर सञ्चालन गरिरहेको छ । पहिलो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ ज्ञवालीले फिर्ता गरिसकेका छन् ।

उद्यम तथा व्यवसायको विज्ञापन निर्माण गर्ने द एड मेकरले १ सयभन्दा बढी सेवाग्राहीलाई सेवा गरिसकेको र अहिले पनि २० वटा नियमित सेवाग्राही रहेको ज्ञवालीले बताए । हालसम्म १२ लाख ७६ हजार रुपैयाँ लगानी भइसकेको कम्पनीका लागि प्राप्त बीउ पुँजीले व्यवसाय विस्तार गर्न र कम्पनीको कार्यालय व्यवस्थापनमा पनि सहयोग पुग्ने ज्ञवालीको भनाइ छ ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको रणनीति तथा नवप्रवर्तन विभागका प्रमुख दिपेश खनालले सक्षम जस्तै अरु पनि विद्यार्थीहरु व्यवसाय, उद्यममा क्रियाशील रहेको जानकारी दिए । म्यानेजमेन्टका प्रिन्सीपल जोशीले महत्वाकांक्षी परियोजनाको रुपमा विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा जोडी बीउ पुँजी दिने काम गरिएको बताए ।

‘विश्वविद्यालय अनुदान आयोगले निजी शैक्षिक संस्थामार्फत बीउ पुँजी दिने व्यवस्था नहुँदा पनि आफूहरुले माग गरेर विद्यार्थीलाई वितरणको व्यवस्था मिलाएको हो,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई बीउ पुँजी वितरण गर्न म्यानेजमेन्टलाई पहिलो किस्ताबापत १७ लाख १० हजार रुपैयाँ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *