प्रदेश समाचारफिचरविजनेससमाचार

होटल स्तरिकरणमा मन्त्रि बिसीद्वारा लोगो वितरण

Share

सुर्खेत । होटल स्तरिकरण कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री कृष्ण कुमार बिसीले लोगो वितरण गरेका छन् । मन्त्री बिसीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको होटल स्तरिकरणको टोलीसंगै होटलहरुको अनुगमन गर्दै स्तरिकरणको लोगो वितरण गरेका हुन् ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आइतबार, सोमबार र मंगलबार वीरेन्द्रनगरका विभिन्न होटलहरुको स्तरिकरण गरेको थियो । होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण चिन्ह पनि प्रदान गरिएको छ । ५० वटा खाद्य स्वच्छताका विभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र समान्यमा बर्गिकरण गरिएको छ । होटल स्तरिकरण चिन्ह बिशेषतः होटलको भान्सा र होटलमा बन्ने बिभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको थियो ।

वीरेन्द्रनगरका ३३ होटलमा खाद्य स्वच्छताका विभिन्न ५० सूचकहरुमा गरिएको अनुगमनमा सिदार्थ होटल र सुभ होटलले अतिउत्तम (३ स्टार) प्राप्त गरेका छन् । यस्तै कौशिक गार्डेन रेष्टुरेन्ट, होटल नमस्ते, होटल भ्याली भ्यू, र सेफ च्वाइस रेष्टुरेन्ट एण्ड पिजा हर्टले उत्तम (२ स्टार) प्राप्त गरेका छन् ।

मन्त्री बिसीले सुभ होटलको अनुगमन गर्दै होटललाई स्तरिकरण चिन्ह प्रदान गरेका थिए । होटल स्तरिकरण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा, खाध्य अधिकृत पदम बराल लगायत होटेल ब्यवसाय संघ, वीरेन्द्रनगर नगरपालिका, रास्ट्रीय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, नगर प्रहरी र पत्रकारहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *