प्रदेश समाचारफिचरसमाचार

कर्णाली प्रदेश अस्पताल ल्याइएका १३ घाईते मध्ये चारकाे अवस्था गम्भीर

Share

सुर्खेत । गयराती जाजरकोट केन्द्रविन्दु बनाएर गएकाे भूकम्पमा परेर हालसम्म १४० जनाको मृत्यू भएको छ । सबैभन्दा बढी प्रभावित रहेको जाजरकोट, रुकुम पश्चिममा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी उनीहरुको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैबीच, प्रदेश सरकारले घाईतेहरुको उद्वार कार्य गर्न सुरु गरेको छ भने यो समाचार तयार पार्दासम्म प्रदेश अस्पताल कालागाउँमा १३ जना घाईते ल्याई उपचार गर्न सुरु गरिएको छ ।

अस्पतालका इर्मजेन्सी विभाग प्रमुख डा. सोनाई गिरीका अनुसार हालसम्म १३ जनालाई अस्पतालमा ल्याई उपचार सुरु गरिसकिएको छ । ‘हालसम्म १३ जना अस्पतालमा आइसक्नु भएको छ । हामी उपचारकै क्रममा छौं ।’ डा. गिरीले भनिन्, ‘ती मध्ये चौरजहारी १ रुकुमका निरज विक, चौरजहारी ८ का मनिषा घर्ती, आठबीसकोट नपा १२ का कमला परियार र सानीभेरीका तीन वर्षीया सविन पुनको अवस्था गम्भीर रहेको छ ।’

यसैबीच, प्रदेश अस्पतालमा घाईतेहरुको अवस्था र उपचारबारे भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसीले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मन्त्रीद्वयले उपचारमा कुनै कमि हुन नदिन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए ।
‘यो कर्णाली प्रदेशका लागि ठूलो विपद हो । अहोरात्र खटेर भएपनि सेवा दिन कुनै कसरवाँकी नराख्नुहोला ।’ अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई मन्त्री शाहीले भने, ‘आवश्यक बजेट देखि सबै व्यवस्था गर्न सरकार तयार छ । घाईतेहरुको ज्यान जोगाउन लाग्नुहोस ।’

उता, प्रदेश अस्पतालका निर्देशक डा. खड्काले अस्पतालमा हाल दुई सय जनाको उपचार गर्न सकिने बताए ।
‘हामी तत्काल दुई सय जनाको उपचार गर्न सक्छौं । त्यो संख्यामा हामी वेडको व्यवस्थापन गर्न सक्छौं ।’ उनले भने, ‘त्यसभन्दा बढी घाईते आएको खण्डमा हामी पाल टाँगेर भएपनि नागरिकको उपचार गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *