राजनीतिसमाचार

त्रिविका आंशिक प्राध्यापकहरु उत्रिए आन्दोलनमा

Share

सुर्खेत : सबैभन्दा ठूलो गुनासो रहेको भन्दै त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । देढ दसकदेखि कार्यरत रहँदासमेत विश्वविद्यालयले पेशागत सुरक्षाको ग्यारेन्टी नगरेको भन्दै उनीहरु किर्तिपुरस्थित केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका छन् ।

उनीहरुले सरकार र विश्वविद्यालयले पटकपटक सम्झौता गर्ने र कार्यान्वयन गर्न वेवास्ता गरेको आरोप लगाएका छन् । विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर्दै निर्णायक आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयमा आवद्ध आंशिक प्राध्यापकको व्यवस्थापनका लागि २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले १ हजार ४ सय २० दरबन्दी स्वीकृत गरेको थियो । त्यसपछि बनेको सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा समेत सो विषय समावेश छ । तर हालसम्म पनि दरबन्दी अनुसार आंशिक प्राध्यापकहरुको व्यवस्थापन हुन नसकेको आंशिक प्राध्यापक माया थापाले बताइन् ।

अहिले विश्वविद्यालय अन्तर्गत देशभरका ६१ आंगिक क्याम्पसका प्राध्यापकहरु उपकुलपति कार्यालय केन्द्रित आन्दोलनका लागि काठमाडौंमा जम्मा भएका छन् । आंशिक प्राध्यापकहरुले उपकुलपतिको कार्यालयबाहिर आन्दोलन गरिरहँदा त्रिवि उपकुलपति धर्मकान्त बास्कोटा भने कार्यकक्षमा उपस्थित छैनन् ।

आंशिक प्राध्यापकहरुको सबैभन्दा ठूलो गुनासो विभेदपूर्ण ज्याला रहेको छ । अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई शिक्षण सहायकसरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

समान कामको समान ज्यालालाई नसमेटेको, आंशिक प्राध्यापकको पेशागत स्थायीत्व प्रदान गर्न नसकेको, आंशिक प्राध्यापकलाई अपमान हुने शब्द र वाक्य प्रयोग गरिएको भन्दै उनीहरुले त्रिविले गत भदौमा जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्न पनि माग गरेका छन् । त्रिविले भने आंशिक प्राध्यापकहरुको संख्या एकिन गर्ने र समस्या समाधान गरिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *