पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड
काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना भएको छ। आज बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड कार्यक्रम तय गरिएको हो।

राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो।
परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाएका थिए। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व भएको यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन भएका छन।
पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना भएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गरेको छ।
एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गरेको छ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ।
