घुसकाण्डमा जोडिइन् रञ्जिता : ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’
काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ । राजीनामा दिएका मन्त्रीले रकम लिएका व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेको हो ।
अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसा समेत मागेको खुल्छ । उनले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको हो ।
पूर्वमन्त्री श्रेष्ठले ९८५१२***५४ नम्बरको फोनबाट पोखराका ती व्यक्तिसँग बारम्बार सम्पर्क गरेको र रकम समेत मागेको प्रमाण अनलाइनखबरले प्राप्त गरेको हो । तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप प्रतिवाद गर्दै भनिन्, ‘मैले त्यसरी कसैसँग पनि पैसा मागेको छैन ।’
अख्तियार उच्च स्रोतले अनलाइनखबरलाई दिएको विवरण अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…..जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ ?’ भनी म्यासेज लेखेको भेटिएको हो ।
अख्तियार स्रोतका अनुसार, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्रीलाई पैसा बुझाउने पोखराका ती व्यक्ति बीच निरन्तर सम्पर्क भएको खुलेको हो ।