कर्णालीमा हरियालीको लागि वृक्षरोपण महाअभियान सुरु
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासअगाडिको सिएम पार्कमा कल्की प्रजातिको फूलको बिरुवा रोपेर एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत सिएम पार्कमा मुख्यमन्त्री यामलाल कँडेलले बिरुवा रोपेर एकमहिने अभियान सुरु गरेका हुन् । मुख्यमन्त्री कँडेलले बिरुवा रोपणका साथै संरक्षणमा पनि ध्यान दिन सुझाव दिए । उनले कर्णालीमा पर्याप्त वनजङ्गल रहेको र प्राकृतिक स्रोतलाई पर्यटन र उद्योगसँग जोडी कर्णालीवासीको आयस्तरमा सुधार ल्याउने गरी काम थाल्न आग्रह गरे । विगत वर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई हरियाली बनाउने कार्यक्रम पनि थालिएको र यसमा डिभिजन वन कार्यालयसँगै स्थानीय बासिन्दाले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए । हरेक वर्ष वृक्षरोपण गर्ने, राज्यको अर्बौं पैसा लगानी हुने तर वनक्षेत्र भने निरन्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले भने, वनक्षेत्रको संरक्षण, वृक्षरोपण जस्ता काममा राज्यले बर्सेनि लगानी गर्दै आइरहेको छ तर वनक्षेत्र बढ्नुको साटो झन् घट्दै गइरहेको अवस्था छ । यो अवस्थालाई रोक्नुपर्ने उनको भनाइ छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले प्रदेश राजधानीसहित कर्णालीका सबै जिल्ला सदरमुकामलाई हरियाली बनाउने वृक्षरोपण महाअभियानको रहेको जानकारी दिए । उनले सरकारले असार १४ देखि साउन १४ गतेसम्मलाई एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान घोषणा गरेकाले यो अवधिमा प्रदेशभर चार लाख बिरुवा रोपिने बताए । विगतमा रोपिएका धेरै जसो बिरुवा बाँच्न सफल भएको दाबी उनले गरे । निर्माणाधीन सिएम पार्कमा कपुर, गोल्डमोहर, वीरेन्द्रफूल, कल्कीफूल, पारिजात, निम, बेल, स्वामी र धुपीलगायतका धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका बहुवर्षीय सदावहार ५४ वटा बिरूवा रोपिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिए । उनले गत वर्षदेखि प्रदेश राजधानीलाई हरियाली बनाउने कार्यक्रम थालिएको भन्दै सो वर्ष दुई हजार २२२ वटा बिरुवा रोपिएको र ९९ प्रतिशत बिरुवा बाँचेको जानकारी दिए ।
यस वर्ष वीरेन्द्रनगरमा एक हजार १११ वटा विभिन्न धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका बहुवर्षीय सदावहार बिरुवा रोपिने लक्ष्य राखिएको पनि जानकारी दिइयो । त्यसै गरी सामुदायिक वनको खाली क्षेत्रमा काष्ठ, जडीबुटी र डालेघाँस प्रजातिका ५० हजार बिरुवा संरक्षणको सुनिश्चिततासहित रोपण गर्ने योजना रहेको उनको भनाइ छ । आगामी फागुन १४ गतेसम्म वृक्षरोपण अभियान सञ्चालन भइरहने जानकारी दिइयो ।