विषादीले बालीबिरुवा जोगाउन खोज्दा मानव स्वास्थ्यमा संकट
५ असोज, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनाका राजु थापाले १० बिघा जमिनमा तरकारी खेती गरेका छन् । २०७६ सालदेखि व्यावसायिक खेती गरेका उनको फार्ममा यतिबेला फर्सी, गोलभेंडा, काउली लगायत तरकारी रोपिएका छन् ।
थापाले १० मध्ये ३ बिघा खेतमा ‘गौरव’ र ‘चाउ’ प्रजातिका गोलभेंडा रोपेका थिए । तर, चाउ नामक गोलभेंडा एकाएक मर्यो । पाक्ने बेलाको गोलभेंडा धमाधम मर्न थालेपछि उनले प्राविधिक बोलाएर औषधि–उपचार गराए । तर पनि गोलभेंडाका बोट मर्न छाडेनन् ।
यो खेती लगाउन १० लाख खर्च भएको हिसाब देखाउँदै थापा भन्छन्, ‘फलेर सबै बिक्री गर्न पाएको भए १८ लाख कमाइ हुन्थ्यो । हरेक वर्ष कुनै न कुनै बालीमा यस्तो समस्या भइरहेको हुन्छ । लगातार समस्या हुन थालेपछि विषादी प्रयोग गरेर भए पनि तरकारी जोगाउने प्रयास गरेको हुन्छु ।’
थापाको अनुभवमा विषादी र औषधि मार्फत तरकारी बचाउने प्रयास नियमित र अनिवार्य जस्तै भएको छ । तरकारी र कृषि बालीमा कम्तीमा २ देखि ३ पटक विषादी हाल्नुपर्ने र रासायनिक मलको प्रयोग पनि अनिवार्य जस्तै बनेको उनी बताउँछन् । रासायनिक मलको सट्टामा गाईगोठको (अर्गानिक) मल हाल्न नसकिने र औषधि प्रयोग विना बाली जोगाउनै नसकिने उनी बताउँछन् ।
दाङकै तुलसीपुर–२ मुचोटका महेन्द्र अधिकारी ८ वर्षदेखि व्यावसायिक कृषि पेशामा छन् । तरकारी र कृषि उपजमा विषादी प्रयोग गर्नु बाध्यता भएको उनी सुनाउँछन् । सुरु–सुरुमा अर्गानिक खेती गर्ने भन्दै उनले अनेकौं प्रयास गरे । तर, सबै प्रयासमा आफू असफल भएको उनी सुनाउँछन् ।
‘विषादी र रासायनिक मल प्रयोग नगर्ने अडान राख्दा उनी पनि डुबे । १८ कट्ठा जग्गामा लगाएको गोलभेंडा मर्न थालेपछि अर्गानिक विषादी प्रयोग गर्ने भन्दै निमवाइल ल्याएर गाईको गहुँत, वनमारा राखेर औषधि बनाएर हालें’ अधिकारी भन्छन्, ‘सबै गोलभेंडा मर्यो । केही जोगाउन सकिएन ।’
आठ वर्षको कृषि कर्मको अनुभवमा विषादी नहाली र रासायनिक मल प्रयोग नगरी खेती गर्न सम्भव नै छैन । गाई–भैंसीको पिसाब लगायतको मिश्रणबाट खेती जोगाउन गरिएका सबै प्रयास असफल भएपछि किसान विषादीको बाध्यतामा परेको उनी बताउँछन् ।
‘मसँग कीटनाशक आठ र फङ्गीको पाँच वटा गरी दर्जन बढी विषादी छन् । कुनै न कुनै बेला यिनको प्रयोग गर्नैपर्छ’ अधिकारी थप्छन्, ‘हामी फसल टिप्ने र बजार पठाउने बेला प्रयोग गर्दैनौं । तर पनि बाध्यताले छोडेको छैन । आफ्नै ज्यान जोखिममा राखेर विषादी छर्नुपर्छ । त्यही फसल आफैंले खानु रहर होइन, बाध्यता पर्छ ।’
व्यावसायिक खेतीमा संलग्न किसानहरू कुनै र कुनै रूपमा विषादी र औषधि प्रयोगमा अभ्यस्त रहेको कुरा हाकाहाकी स्वीकार गर्छन् । सहजै उपलब्धता, उत्पादन बढाउने र जोगाउने लालच र कमजोर सरकारी नियमनका कारण हरेक वर्ष नेपालमा विषादी प्रयोग बढ्दो छ । दैनिक प्रयोगका कृषि उपजदेखि प्राथमिक कृषि उपजसम्म यसको प्रयोग भइरहेको छ ।
पछिल्लो एक दशकमा विषादीको प्रयोग नजानिंदो पाराले बढ्दो देखिन्छ । २०६८ सालको तुलनामा २०७८ मा धानमा विषादी प्रयोग गर्ने किसान १५.६ प्रतिशतले बढेका छन् । मकै, गहुँ, आलु जस्ता हाम्रो भान्सामा दिनहुँ आवश्यक पर्ने खाद्यान्नमा पनि विषादीको प्रयोग बढिरहेको छ ।
निषेधित विषादीको बढ्दो प्रयोग
नेपालमा हरियो तरकारीका अलावा धान, गहुँ, मकै जस्ता प्रमुख खाद्य बालीमा समेत विषादीको प्रयोग बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ को प्रतिवेदन अनुसार, सरकारले आयात र प्रयोगमा निषेध गरेका विषादी समेत किसानको हातमा पुगेको छ । प्रतिबन्ध लगाइएका त्यस्ता विषादी गाउँ–गाउँमा किसानले प्रयोग गरिरहेका छन् । करिब ७० हजार किसानले स्वास्थ्यका दृष्टिले हानिकारक विषादीलाई कीटनाशकको रूपमा प्रयोग गरिरहेका छन् ।
कृषि गणना अनुसार, ४१ लाख ३० हजार किसान परिवारमध्ये ५ लाख ८० हजारले तरकारी तथा कृषि उपजमा विषादी प्रयोग गरिरहेका छन् । तीमध्ये ३ लाख ५१ हजार किसानले गम्भीर प्रकृतिका विषादीहरू प्रयोग गरिरहेको भेटिएको छ । ६९ हजार परिवारले त नेपालमा प्रतिबन्ध लगाइएका र आयात गर्नै नपाइएका अत्यन्तै हानिकारक विषादी प्रयोग गरिरहेका छन् । ती विषादी हामीले दिनहुँ प्रयोग गर्ने तरकारी र प्रमुख खाद्य बालीमा प्रयोग भइरहेको गणनाका क्रममा खुलेको छ ।
केही दिनअघि सार्वजनिक भएको विवरण अनुसार, सरकारले आयात र प्रयोग अनुमति दिएको विषादी प्रयोग गर्ने किसान परिवारको संख्या २ लाख २९ हजार छ । थप बढी हानिकारक भनी औंल्याइएका ३ वर्गमध्ये नीलो वर्गको विषादी प्रयोग गर्ने किसान संख्या २ लाख ८२ हजार छ ।
१२ लाख ३३ हजार किसान परिवारले धान खेतमा विषादी प्रयोग गरिरहेका छन् । जसमध्ये हरियो वर्गको अनुमति प्राप्त विषादी प्रयोग गर्ने कृषक संख्या ४ लाख ८६ हजार छ । नीलो वर्गको विषादी प्रयोग गर्ने किसान ५ लाख ४८ हजार छन् । पहेंला वर्गको विषादी प्रयोग गर्ने एक लाख ८४ हजार छन् । रातो वर्गको विषादी प्रयोग गर्ने किसान परिवार संख्या १४ हजार ७११ छ ।
विषादीको असर र त्यसको हानिको गम्भीरताका आधारमा सरकारले विषादीको वर्गीकरण गर्छ । तीमध्ये २४ प्रकारका विषादी प्रयोगमा रोक लगाइएको छ ।